विश्व दोस्रो विश्वयुद्धपछिकै गम्भीर द्वन्द्वको अवस्थामा, विश्वभर १३० सशस्त्र संघर्ष सक्रिय
काठमाडौँ । अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले विश्व दोस्रो विश्वयुद्धपछि सबैभन्दा गम्भीर सशस्त्र द्वन्द्वको अवस्थाबाट गुज्रिरहेको चेतावनी दिएको छ। आईसीआरसीकी अध्यक्ष मिर्याना स्पोलजारिकका अनुसार अहिले विश्वभर अन्तर्राष्ट्रिय तथा गैरअन्तर्राष्ट्रिय गरी करिब एक सय ३० वटा सशस्त्र द्वन्द्व सक्रिय छन्। यो संख्या पछिल्लो १५ वर्षको तुलनामा दोब्बर हो।
विश्वका नेताहरूले द्वन्द्व र त्यसबाट उत्पन्न मानवीय संकटप्रति चासो गुमाउँदै गएको भन्दै स्पोलजारिकले चिन्ता व्यक्त गरेकी छन्। युद्धको बढ्दो संख्या, जटिलता र अन्तर्राष्ट्रिय मानवीय कानुनको अवज्ञाले विश्वव्यापी सुरक्षा अवस्था गम्भीर बन्दै गएको उनको भनाइ छ।
युद्धका कारण सहरहरू ध्वस्त भइरहेका छन् भने लाखौँ मानिस विस्थापन, भोकमरी र आधारभूत सेवाको अभाव सामना गर्न बाध्य छन्।
द्वन्द्वमा सर्वसाधारण नागरिक, महिला तथा बालबालिकामाथि हुने हिंसा र युद्धबन्दीमाथिको दुर्व्यवहारले मानवीय संकट थप गहिरिएको छ। यसैबीच, इजरायल र हमासबीचको युद्धबाट गाजा क्षेत्रमा व्यापक क्षति पुगेको छ। उपलब्ध विवरणअनुसार गाजाका ८० प्रतिशतभन्दा बढी भवन ध्वस्त वा क्षतिग्रस्त भएका छन्। विस्थापित नागरिकले खानेपानी, स्वास्थ्य सेवा, आवास र अन्य आधारभूत आवश्यकताको अभाव झेलिरहेका छन्।
आईसीआरसीले सशस्त्र द्वन्द्वका क्रममा अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न द्वन्द्वरत पक्षहरूलाई आग्रह गर्दै आएको छ। यता, बुल्गेरियाको तटनजिक कालो सागरमा दुई मालवाहक जहाजमाथि ड्रोन आक्रमण भएको विवरण सार्वजनिक भएको छ। आक्रमणमा एउटा जहाज डुब्दा ११ जना नाविक बेपत्ता भएका छन् भने पाँच जनाको उद्धार गरिएको छ।
माल्टाको झण्डा बोकेको अर्को जहाजमा रहेका १५ जना नाविकलाई पनि उद्धार गरिएको जनाइएको छ। घटनापछि बुल्गेरियाले रुसी राजदूतलाई बोलाएर चासो व्यक्त गरेको समाचारमा उल्लेख छ। यमनमा पनि तनाव बढेको छ। हूती विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा मंगलबार हवाई आक्रमण भएका छन्। हूती सञ्चालित अल–मसिरा टेलिभिजनले आक्रमणका लागि साउदी अरबलाई जिम्मेवार ठहर गरेको छ। तर, साउदी अरबले यसबारे तत्काल प्रतिक्रिया दिएको छैन।
कमरान द्वीप र होदेदा बन्दरगाहनजिकका क्षेत्रमा आक्रमण भएको जनाइएको छ। यसैगरी, साउदी अरबको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै भारतीय विमान सेवा कम्पनीहरूले विभिन्न सहरमा सञ्चालन हुने केही उडान रद्द गरेका छन्। इन्डिगो, अकासा एयर र एयर इन्डियाले उडान स्थगित गरेका हुन्। भारतीय दूतावासले साउदी अरबमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन तथा स्थानीय अधिकारीका निर्देशन पालना गर्न आग्रह गरेको छ।
समाचारअनुसार अक्टोबर १० मा रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको थियो भने १० भारतीय नागरिकसहित अन्य केही व्यक्ति घाइते भएका थिए। मध्यपूर्वको तनाव, रुस–युक्रेन युद्ध तथा अफ्रिकालगायत विभिन्न क्षेत्रमा जारी सशस्त्र संघर्षले नागरिकको सुरक्षा, खाद्य आपूर्ति र आर्थिक गतिविधिमा असर पारिरहेको छ। आईसीआरसीले द्वन्द्व नियन्त्रण, अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान, नागरिकको सुरक्षा र मानवीय सहायता निर्बाध रूपमा पुर्याउन विश्व नेताहरूले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएको छ।

