भोजपुरको महादेव थान धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै
भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थानलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ। प्राकृतिक सौन्दर्य, गुफा तथा विभिन्न देवीदेवताका मूर्ति रहेको यस स्थलको संरक्षण र पूर्वाधार विकासमा स्थानीय तहले पहल गरेसँगै भक्तजनलाई आवतजावतमा सहज भएको छ।
हतुवागढी, रामप्रसादराई र पौवादुङमा गाउँपालिकाको सङ्गमस्थलमा रहेको महादेव थान परिसरमा गाउँपालिकाले फलामको बारसहितको पदमार्ग निर्माण गर्नुका साथै सडक विस्तार गरेको छ। स्थलको संरक्षण, व्यवस्थापन र विकासका लागि महादेव थान संरक्षण समिति पनि गठन गरिएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो।
लामो समयदेखि रोकिएको यहाँको मेला स्थानीयवासीको पहलमा पुनः सञ्चालन गरिएको छ। गाउँपालिकाले २०८० सालदेखि पूजापाठ तथा सद्बीज छर्ने कार्यक्रम सुरु गरेपछि धार्मिक गतिविधि थप सक्रिय बनेको छ। विशेषगरी बालाचतुर्दशीका अवसरमा यहाँ मेला, पूजापाठ र भजनकीर्तन हुने गरेको छ।
गुफासहितको प्राकृतिक बनावट र धार्मिक आस्थाका कारण विभिन्न स्थानबाट भक्तजन यहाँ आउने गरेका छन्। यहाँ दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वाससमेत रहेको स्थानीयवासी बताउँछन्। ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको महादेव थानलाई व्यवस्थित रूपमा विकास गर्न सके स्थानीय क्षेत्रको पहिचान स्थापित हुनुका साथै आन्तरिक पर्यटकको आवागमन बढ्ने अपेक्षा गरिएको छ।

