बाढी प्रभावित क्षेत्रका लागि राहत कोषमा १७ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी मौज्दात

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दुवै कोषका विभिन्न खातामा गरी हालसम्म १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ मौज्दात रहेको छ।

कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा रहेका खातामा १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ मौज्दात छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर जम्मा भएको छ। सरकारले उक्त कोषमा जम्मा भएको रकममध्ये यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।

Facebook Comments Box