पोखरा स्कुल बस दुर्घटना : तीन विद्यार्थीको अन्त्येष्टि, गम्भीर घाइतेलाई काठमाडौं लगियो

पोखरा – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच जनामध्ये तीन जनाको आइतबार साँझ अन्त्येष्टि गरिएको छ। गम्भीर घाइते एक जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ। सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका इङ्लिस बोर्डिङ स्कुलको बस शुक्रबार बिहान दुर्घटना हुँदा चार विद्यार्थी र एक अन्य व्यक्तिको मृत्यु भएको थियो।

विद्यालयले मृतकका परिवारलाई जनही तीन लाख ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने र घाइतेको सम्पूर्ण उपचार खर्च बेहोर्ने सहमति गरेपछि विद्यार्थी ममता तिवारी, असिम कँडेल र शुभेच्छा तिवारीको आइतबार साँझ पोखराको रामघाटमा अन्त्येष्टि गरिएको हो।

जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष र विद्यालय सञ्चालकबीच भएको वार्तामा राहत र उपचार खर्च उपलब्ध गराउने सहमति जुटेको पोखरा महानगरपालिका–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुभयो। मृतकका परिवारले बिमाबापतको रकमसमेत प्राप्त गर्नेछन्।

दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको अन्त्येष्टि भने परिवारका सदस्य विदेशबाट आएपछि गरिने भएको छ। मृतक विद्यार्थी रुमिका नेपालीका बुबा र बाबुराम तिवारीका छोरा विदेशमा रहेकाले अन्त्येष्टि रोकिएको वडाध्यक्ष लामिछानेले बताउनुभयो।

यसैबीच, दुर्घटनामा गम्भीर घाइते १६ वर्षीया अस्मी कँडेललाई आइतबार साँझ हेलिकप्टरमार्फत काठमाडौंस्थित बी एन्ड बी अस्पताल लगिएको छ। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग समन्वय गरी मुस्ताङ एयरको हेलिकप्टरबाट उहाँलाई काठमाडौं पठाएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालयका अनुसार दुर्घटनामा घाइते सात विद्यार्थीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। उपचारपछि तीन जना घर फर्किएका छन् भने गण्डकी मेडिकल कलेजमा थप तीन जनाको उपचार भइरहेको छ।

Facebook Comments Box