आज घटस्थापना, बिहान ११ बजेर ४७ मिनेटमा उत्तम साइत
काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको उत्तम साइत रहेको छ। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्नुपर्ने स्पष्ट पार्नुभएको छ।
घटस्थापनाका दिन पूजा कोठा वा दसैँघरमा बालुवा अथवा माटो राखेर जौ छरिन्छ र विधिपूर्वक जमरा उमारिन्छ। स्थापना गरिएको कलशमा दुर्गा भवानीको पूजा आराधना गरी नवरात्र सुरु गरिन्छ। शास्त्रीय विधिअनुसार जौकै जमरा राख्ने परम्परा रहेको धर्मशास्त्रका जानकारहरूले बताएका छन्। घटस्थापनादेखि विजयादशमीसम्मको नौ दिनलाई नवरात्र भनिन्छ। यस अवधिमा दुर्गा भवानीका नौ स्वरूपको पूजा आराधना गरिन्छ।
दसैँको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा विशेष पूजा गरिन्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने बडादसैँका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ। यस वर्षको विजयादशमी अर्थात् दसैँको टीका कात्तिक ४ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेटलाई तोकेको छ।

