जलवायु न्यायका लागि साझा आवाज बलियो बनाउनुपर्नेमा नेपालको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि, यूएनएफसीसीसीको ३१औँ सम्मेलन कोप–३१ को पूर्वसन्ध्यामा टुभालुको राजधानी फुनाफुतीमा आयोजित उच्चस्तरीय प्रि–कोप लिडर्स इभेन्टमा परराष्ट्रमन्त्री शिशिर खनाल सहभागी भएका छन्।

कार्यक्रममा विभिन्न राष्ट्रका राष्ट्रप्रमुख, सरकार प्रमुख तथा प्रतिनिधिमण्डलका नेताहरूसँग सहभागी मन्त्री खनालले पर्वतीय तथा साना टापु विकासोन्मुख राष्ट्रले जलवायु परिवर्तनका कारण सामना गरिरहेका साझा चुनौती र प्राथमिकताबारे नेपालको धारणा राखेका छन्। मन्त्री खनालले जलवायु परिवर्तनका प्रतिकूल प्रभावबाट प्रभावित मुलुकका साझा सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

यसैबीच, परराष्ट्रमन्त्री खनालले टुभालुका प्रधानमन्त्री फेलेटी तेओबिसँग भेटवार्ता गरेका छन्। भेटमा हिमाली क्षेत्र र प्रशान्त महासागरका साना टापु राष्ट्रले जलवायु परिवर्तनका कारण सामना गरिरहेका जोखिम तथा चुनौती समान प्रकृतिका रहेको उल्लेख गर्दै जलवायुका क्षेत्रमा द्विपक्षीय सहकार्य थप सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ।

यस्तै, मन्त्री खनालले टोङ्गाका प्रधानमन्त्री लर्ड फाकाफानुआसँग पनि भेटवार्ता गरेका छन्। फुनाफुतीस्थित कोस्टल एडाप्टेसन प्रोजेक्टको स्थलगत अवलोकनका क्रममा भएको भेटमा उच्च हिमाली पारिस्थितिकीय प्रणाली र तल्लो तटीय टापु राष्ट्रले सामना गरिरहेका जलवायुजन्य जोखिमबीचको अन्तरसम्बन्धबारे छलफल भएको छ।

भेटमा जलवायु वित्त, जलवायु अनुकूलन तथा हानि–नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि पर्वतीय तथा साना टापु राष्ट्रले अन्तर्राष्ट्रिय मञ्चमा साझा आवाज थप सशक्त बनाउनुपर्नेमा जोड दिइएको छ। मन्त्री खनालले मौरिससका राष्ट्रपति धरमवीर गोखुल तथा प्रथम महिला बृन्दा गोखुलसँग पनि भेटवार्ता गरेका छन्। भेटमा नेपाल र मौरिससबिचको मैत्रीपूर्ण सम्बन्ध तथा जलवायु परिवर्तनका विषयमा आगामी दिनमा सहकार्य थप सुदृढ गर्ने विषयमा छलफल भएको छ।

टुभालुको तटीय क्षेत्रको स्थलगत अवलोकनका क्रममा नेपाली प्रतिनिधिमण्डलले समुद्री सतह वृद्धि र तीव्र सामुद्रिक छालको प्रभाव न्यूनीकरणका लागि अपनाइएका तटीय इन्जिनियरिङ तथा जलवायु अनुकूलनका उपायबारे जानकारी लिएको छ। सो अवसरमा मन्त्री खनालले हिमालयमा तीव्र गतिमा भइरहेको हिमनदी पग्लिने तथा हिमक्षय र समुद्री सतह वृद्धिबीचको अन्तरसम्बन्धबारे ध्यानाकर्षण गराउँदै पर्वतीय र साना टापु राष्ट्रको जलवायु भविष्य परस्पर अन्तरसम्बन्धित रहेको बताएका छन्।

उनले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव सामना गर्न अन्तर्राष्ट्रिय समुदायले जलवायु वित्तसम्बन्धी प्रतिबद्धता समयमै, पर्याप्त र न्यायोचित रूपमा पूरा गर्नुपर्नेमा जोड दिएका छन्। नेपालले हिमालयमा देखिएका जलवायुजन्य प्रभाव तथा प्रशान्त क्षेत्रका साना टापु राष्ट्रले सामना गरिरहेका समुद्री सतह वृद्धि र तटीय क्षयलाई साझा जलवायु सरोकारका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको छ।

Facebook Comments Box