अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन निर्माणको काम तीव्र

चितवन । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा जग्गा सम्याउने र बाहिरी पर्खाल निर्माणको काम तीव्र रूपमा भइरहेको छ। नेपाल आयल निगमका अनुसार परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अन्तिम चरणमा पुगेको छ। लोथरमा करिब २३ बिघा १२ कट्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको ग्रिनफिल्ड टर्मिनल निर्माण गरिनेछ।

अमलेखगन्जदेखि लोथरसम्म करिब ६२ किलोमिटर लामो र १० दशमलव ७५ इन्च व्यासको पाइपलाइन निर्माण हुनेछ। पाइपलाइन पूर्वपश्चिम राजमार्गको समानान्तर बिछ्याइनेछ भने हेटौँडा बजार क्षेत्रमा भने बाइपास गरेर लैजाने योजना रहेको छ। परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। पाइपलाइनबाट प्रतिघण्टा २७३ किलोलिटरका दरले इन्धन आपूर्ति गर्न सकिने निगमले जनाएको छ।

लोथरमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन भण्डारणका लागि विभिन्न क्षमताका ट्याङ्की निर्माण गरिनेछन्। नयाँ डिपोमा कुल ९१ हजार ९ सय किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिनेछ। लोथरमा हवाई इन्धन भण्डारणको व्यवस्था भएपछि भारतको बरौनीबाट ट्याङ्करमार्फत हवाई इन्धन ल्याउनुपर्ने अवस्था अन्त्य हुनेछ। निगमका अनुसार पाइपलाइनमार्फत हवाई इन्धन ल्याउँदा प्रतिलिटर करिब पाँच रुपैयाँ ढुवानी खर्च बचत हुनेछ र वार्षिक करिब दुई अर्ब रुपैयाँ बराबरको खर्च जोगिने अनुमान छ।

परियोजनामा ल्याण्ड फिलिङ र बाहिरी पर्खाल निर्माणका लागि मोतीदान कन्स्ट्रक्सनले करिब ७९ करोड रुपैयाँमा ठेक्का पाएको छ। ठेक्का अवधि एक वर्ष भए पनि आठदेखि नौ महिनामै काम सम्पन्न गर्नेगरी काम अघि बढाइएको कम्पनीले जनाएको छ। पाइपलाइन तथा भण्डारण गृह निर्माणको कुल लागत करिब १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ।

परियोजना निर्माणपछि पेट्रोलियम पदार्थको ढुवानी सहज हुनुका साथै चोरी, मिसावट र वातावरणीय प्रभावसमेत न्यूनीकरण हुने अपेक्षा गरिएको छ। अमलेखगन्ज–लोथर परियोजना निर्माणका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच २०८१ असोजमा सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण सुरु भएको ५४ महिनाभित्र परियोजना सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

Facebook Comments Box