आज देशभर सामान्य बदली, केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको छ। यस्तै, कोशी, मधेस र बागमती प्रदेशका साथै गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा सामान्य बदली भएको छ। बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, देशका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

राति हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

Facebook Comments Box