प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्युयोर्कमा रहेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेससँग भेट गरेका हुन्।
स्थानीय समयअनुसार बिहीबार साँझ ६ः३० बजे भएको भेट नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे भएको हो। भेटमा नेपालमा हालै भएको भोटेकोसी विपद्, जलवायु परिवर्तनका असर तथा त्यसबाट उत्पन्न जोखिमबारे छलफल भएको थियो।
महासचिव गुटेरेसले भोटेकोसी विपद्का कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै जलवायुका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए। उनले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेका थिए।
भेटका क्रममा गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भावका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिँदै उनको कार्यकालका लागि शुभकामना दिएका थिए। उनले भोटेकोसी विपद्बाट नेपालले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै हिमताल फुटेर आउने बाढीको जोखिम अझै उच्च रहेको बताएका थिए।
भेटमा नदी किनारमा बसोबास गर्ने नागरिकको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा पनि छलफल भएको थियो। साथै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न संयुक्त राष्ट्रसंघबाट प्राप्त हुने समर्थनबारे समेत कुराकानी भएको जनाइएको छ।

