खेल महाकुम्भ एसियाडको उद्घाटन हुँदै, नेपाल २१ खेलमा सहभागी
नागोया (जापान) । ‘इमाजिन वन एसिया’ नारासहित २०औँ एसियाली खेलकुद (एसियाड) आयोजना गर्न जापानको तेस्रो ठूलो सहर नागोया तयार भएको छ । एसियाको सबैभन्दा ठूलो खेल महाकुम्भ एसियाडको उद्घाटन समारोह शनिबार पालोमा मिजुहो रङ्गशालामा हुँदै छ ।
उद्घाटन समारोहसँगै आइची नागोया एसियाड औपचारिक रूपमा सुरु हुनेछ । यद्यपि महिला क्रिकेट, महिला फुटबल, टेकबल, बास्केटबल, आधुनिक पेन्टाथलन, महिला भलिबल र सफ्ट टेनिसका प्रतिस्पर्धा भने उद्घाटनअघि नै सुरु भइसकेका छन् । एसियाडको समापन समारोह असोज १८ गते हुनेछ । उद्घाटन समारोहमा जापानका सम्राट् नारुहितो र साम्राज्ञी मासाकोको समेत उपस्थिति रहने बताइएको छ ।
उद्घाटन समारोहको सुरक्षा व्यवस्थाका लागि जापानले करिब १० हजार प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । एसियाका १७ हजारभन्दा बढी खेलाडी तथा खेलकर्मी प्रतियोगितामा सहभागी हुँदै छन् । नागोयाबाहेक टोकियो, सिजोका, गिफु र ओसाकामा समेत विभिन्न खेल सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि ५४ खेलस्थल तयार पारिएका छन् ।
यसपटक एसियाडमा ४३ खेलका ७१ विधामा ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । पछिल्लो पेरिस ओलम्पिकमा ३२ खेल समावेश रहेकामा नागोया एसियाडमा ४३ खेल राखिएका छन् । ओलम्पिकका खेलसँगै मिक्स मार्सल आर्ट्स (एमएमए), पाडेल, टेकबल, सर्फिङ, भर्चुअल तेक्वान्दो र फ्रिस्टाइल बीएमएक्सले पनि एसियाडमा स्थान पाएका छन् ।
नेपालले २१ खेलमा सहभागिता जनाउँदै छ । त्यसका लागि १३५ नेपाली खेलाडी जापान पुगेका छन् । यसअघि घोषणा गरिएको सङ्ख्याभन्दा दुई खेलाडी कम भएका हुन् । एक खेलाडी मात्र सहभागी हुने डान्स स्पोर्ट्सको सहभागिता हुन सकेन भने उसुका मुकेश पण्डित अस्वस्थताका कारण जापान आउन सक्नुभएन ।
नेपालले विगतका तुलनामा यसपटक बढी पदक जित्ने लक्ष्यसहित तयारी गरेको छ । नेपाली खेलाडीले करिब तीन वर्षदेखि एसियाडलाई लक्षित गरी तयारी गर्दै आएका थिए भने पछिल्लो दुई महिनादेखि अधिकांश टोली उच्चस्तरीय बन्द प्रशिक्षणमा थिए । विभिन्न खेलका खेलाडी वैदेशिक प्रशिक्षणसमेत लिएर जापान पुगेका छन् ।
उद्घाटन समारोहमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले नेपालको राष्ट्रिय झन्डा बोक्नुहुने छ । नेपाल पहिलो एसियाली खेलकुददेखि नै सहभागी हुँदै आएको राष्ट्र हो । दोस्रो संस्करणबाहेक नेपालले हालसम्म सबै एसियाडमा सहभागिता जनाएको छ । एसियाडमा नेपालले सन् १९८६ को सोल एसियाडदेखि पदक जित्न थालेको हो ।
नेपालले अहिलेसम्म एसियाडमा स्वर्ण पदक जित्न सकेको छैन । हालसम्म नेपालले तीन रजत र २३ कांस्य गरी कुल २६ पदक जितेको छ । नेपालका लागि एसियाडमा सबैभन्दा ठूलो उपलब्धि रजत पदक रहँदै आएको छ । बैंककमा भएको १३औँ एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारी, जकार्ता–पालेमबाङमा भएको १८औँ एसियाडमा पाराग्लाइडिङ टोली तथा पछिल्लो संस्करणमा कराँतेकी एरिका गुरुङले रजत पदक जितेका थिए ।
नेपालका लागि तेक्वान्दोले एक रजत र १३ कांस्य, कराँतेले एक रजत र दुई कांस्य, पाराग्लाइडिङले एक रजत, बक्सिङले सात कांस्य तथा कबड्डीले एक कांस्य पदक जितेका छन् । यसपटक नेपालले पहिलोपटक एसियाडमा स्वर्ण पदक जित्ने लक्ष्यसहित खेलाडीलाई मैदानमा उतार्दै छ । कराँते, उसु, बक्सिङ र क्रिकेटलगायत खेलबाट पदकको अपेक्षा गरिएको छ ।

