७२ घण्टामै बेलिब्रिज निर्माण, रसुवाको सडक सम्पर्क पुनः जोडियो

देवीघाट, २६ भदौ – भोटेकोशीको हिमबाढीले सडक र पुल बगाएपछि टुटेको रसुवाको सडक सम्पर्क पुनः जोडिएको छ । नेपाली सेनाले नुवाकोटको तादी खोलामाथि ७२ घण्टामै बेलिब्रिज निर्माण गरेपछि रसुवाको ‘लाइफलाइन’ सडक पुनः सञ्चालनमा आएको हो ।

तादी खोलामा पुल बनेपछि गल्छीदेखि देवीघाट–त्रिशूली हुँदै मैलुङ, स्याफ्रुबेँसी र रसुवागढीसम्मको सडक सम्पर्क पुनःस्थापित भएको छ । भदौ १० गते आएको भीषण बाढीले रसुवातर्फ जाने सडक तथा पुलमा क्षति पुर्‍याएपछि उत्तरी रसुवाको बाहिरी जिल्लासँगको स्थल सम्पर्क प्रभावित भएको थियो ।

नेपाली सेनाको नं. १४ बाहिनी अड्डाको इन्जिनियरिङ टोलीले सडक विभाग र स्थानीय तहसँगको समन्वयमा तादी खोलामा ५७ दशमलव ९ मिटर लामो र ५ दशमलव ५ मिटर चौडा ‘एक्रो ब्रिज’ निर्माण गरेको हो । ६० टन भारवहन क्षमता रहेको पुल बिहीबारदेखि सवारीसाधनका लागि सञ्चालनमा आएको छ ।

सेनाले भदौ २० गतेदेखि पुल निर्माण सुरु गरेको थियो । सामग्री ढुवानीसमेत जोड्दा पाँच दिन लागेको भए पनि पुल निर्माणको वास्तविक ‘रनिङ टाइम’ ७२ घण्टा मात्र रहेको उपरथी रञ्जित थापाले बताउनुभयो । पुल निर्माणमा सेनाको ५५ सदस्यीय इन्जिनियरिङ टोली अहोरात्र खटिएको थियो ।

सेनाले विपत्का बेला तत्काल प्रयोग गर्न सकिने गरी विभिन्न रणनीतिक स्थानमा बेलिब्रिजका सामग्री भण्डारण गरेर राखेकाले पुनःस्थापना कार्य छिटो सम्भव भएको जनाएको छ । तादी खोलाको पुलका लागि गजुरीमा भण्डारण गरिएको सामग्री तत्काल निर्माणस्थलमा ल्याइएको थियो ।

पुल सञ्चालनमा आएसँगै गल्छीदेखि देवीघाट हुँदै त्रिशूलीसम्मको करिब २६ किलोमिटर सडक सम्पर्क थप सहज भएको छ । यसबाट उत्तरी क्षेत्रमा आवागमनसँगै राहत, उद्धार तथा पुनःस्थापनाका काममा समेत सहजता पुगेको छ । बाढीपछि उद्धारसँगै सडक, पुल र अन्य पहुँच संरचनाको पुनःस्थापनालाई प्राथमिकता दिइएको नेपाली सेनाले जनाएको छ । पुल निर्माण भएर पुनः सवारीसाधन सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले सेनाको कामको प्रशंसा गरेका छन् ।

Facebook Comments Box