झापामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार असोज ५ देखि १९ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३१९ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ।

झापामा हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएकोमा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमण र मृत्युदर बढेपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको छ। जिल्लामा सबैभन्दा बढी जेई संक्रमित मेचीनगर नगरपालिकामा भेटिएकाले खोप अभियान पनि त्यहीँबाट सुरु गरिनेछ।

एक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन गर्ने तयारी गरिएको दासले बताउनुभयो। खोप लगाएपछि सामान्य असर देखिन सक्ने भए पनि त्यसले स्वास्थ्यमा ठूलो समस्या नपार्ने उहाँको भनाइ छ। खोप सेवा सहज र पहुँचयोग्य बनाउन प्रत्येक वडामा खोप केन्द्र स्थापना गरिनेछ। अभियानमा महिला स्वास्थ्य स्वयंसेविका तथा खोपकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

Facebook Comments Box