ललितपुरबाट १ लाख ६ हजार ५०० क्याप्सुल ट्रामाडोल बरामद, तीन जना अनुसन्धानमा

 काठमाडौं । लागूऔषधविरुद्धको अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल, इन्टेलिजेन्स ब्युरोबाट परिचालित विशेष टोलीले ललितपुरबाट ठूलो परिमाणमा ट्रामाडोल बरामद गरेको छ। विशेष सूचनाका आधारमा सोमबार दिउँसो करिब ३ः३० बजे ललितपुर महानगरपालिका–९, च्यासलमा सञ्चालन गरिएको अपरेसनका क्रममा १७ हजार ४०० क्याप्सुल ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सुनसरीको धरान महानगरपालिका–१७ घर भई हाल सातदोबाटो बस्दै आएका ३४ वर्षीय सुरेन राई र ललितपुर महानगरपालिका–१२ घर भई हाल शंखमुल बस्दै आएका ३२ वर्षीय सुजित देउला छन्। उनीहरूको साथबाट ट्रामाडोलका ५८ बक्स, १ हजार ७४० फाइल अर्थात् १७ हजार ४०० क्याप्सुल र एउटा होन्डा डियो स्कुटर बरामद गरिएको छ।

अनुसन्धानका क्रममा ललितपुर महानगरपालिका–७ स्थित एक घरमा भाडामा बस्दै आएका काभ्रेको पनौती नगरपालिका–१ पर्खालचौरका करिब ४२ वर्षीय अर्जुन भुजेलको कोठाबाट थप ८९ हजार १०० क्याप्सुल ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ। यससँगै बरामद ट्रामाडोलको कुल परिमाण १ लाख ६ हजार ५०० क्याप्सुल पुगेको छ।

इन्टेलिजेन्स ब्युरोका अनुसार ‘केजीएफ च्याप्टर–२’ नामबाट ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको सूचनाका आधारमा यसअघि पनि विशेष अपरेसन सञ्चालन गरिएको थियो। उक्त अपरेसनका क्रममा दुई लाखभन्दा बढी लागूऔषध बरामद गरिएको थियो। च्यासलबाट पक्राउ परेका व्यक्तिहरूको सम्बन्ध, लागूऔषधको स्रोत, वितरण सञ्जाल तथा समूहका अन्य सदस्यबारे थप अनुसन्धान गर्न बरामद लागूऔषधसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

Facebook Comments Box