हेटौँडा–काठमाडौँ आवागमनमा ‘वान वे’ प्रणाली लागू
हेटौँडा, १६ भदौ – जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–काठमाडौँ आवागमनका लागि मंगलबारदेखि ‘वान वे’ प्रणाली लागू गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध हुनुका साथै हेटौँडा हुँदै विभिन्न राजमार्ग प्रयोग गर्ने सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापन सहज बनाउन एकतर्फी प्रणाली लागू गरिएको प्रशासनले जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार १० चक्कासम्मका सबै मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र काठमाडौँबाट हेटौँडा फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ । कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, १४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारीसाधनका लागि पनि एकतर्फी रुट तोकिएको छ । हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्नेछ भने काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानुपर्नेछ ।मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालवाहक सवारीसाधनलाई उक्त पुल प्रयोग गर्न रोक लगाइएको छ । त्यस्ता सवारीसाधनले बेलिब्रिजसँगै रहेको डाइभर्सन प्रयोग गर्नुपर्ने प्रशासनले जनाएको छ ।
विपद्को अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ । सवारी चालकलाई आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न पनि अनुरोध गरिएको छ ।
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ जाने वैकल्पिक सडकमा सवारीसाधनको चाप बढेको छ । यही अवस्थालाई मध्यनजर गर्दै रुटलाई एकतर्फी बनाएर आवागमन तथा ट्राफिक व्यवस्थापन सहज बनाउन नयाँ व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

