बाढीले कृष्णभीरमा कटान गरेपछि काठमाडौं-मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौँ, १४ भदौ – भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर क्षेत्रमा सडकको तल्लो भाग कटान गरेपछि सडक केही भासिएको हो।

बाढीका कारण आज बिहान केही समय सडक अवरुद्ध भएको थियो। पछि सडक सञ्चालनमा आए पनि नदीमा पानीको बहाव पुनः बढेपछि केही समयमै सडक पूर्ण रूपमा बन्द भएको हो। सडक अवरुद्ध भएपछि काठमाडौं र मुग्लिनतर्फ जाने तथा आउने यात्रु र सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले सडक आसपासका क्षेत्रमा सावधानी अपनाउन र अवस्था सामान्य नभएसम्म अनावश्यक यात्रा नगर्न सम्बन्धित निकायले आग्रह गरेको छ।

Facebook Comments Box