बाढी–पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २८ साउन – नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्ग अवरुद्ध भएको जनाएको छ । कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको छ । त्यहाँ वैकल्पिक बाटोसमेत व्यवस्था गरिएको प्रहरीले जनाएको छ ।

इलामको राजदुवालीमा अविरल वर्षाका कारण झापादेखि ताप्लेजुङ जोड्ने मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । बागमती प्रदेशमा पनि बाढी तथा पहिरोको जोखिम उच्च रहेको छ । काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न दिइनेछ ।

मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर जोड्ने कान्ति लोकपथमा पनि साउन २९ गतेदेखि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चारकिलो, कोदारी र लिपिङमा पहिरो गएपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको खाल्टेमा आएको बाढीका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ । उक्त सडक खुल्न केही समय लाग्ने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशका केही स्थानमा पहिरो गए पनि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । बागलुङको बेलबगरस्थित कालीगण्डकी करिडोर र लमजुङको बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा छन् । बागलुङको सडकखण्डलाई दुईतर्फी सञ्चालनमा ल्याउन भने अझै समय लाग्ने प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेशको रुकुम पूर्वस्थित काडाबगरमा पहिरो गएपछि मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित रिजेगार्ड खोलामा आएको बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा ठप्प भएको छ । सडक अवरुद्ध भएका स्थानमा पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले जोखिमयुक्त सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

Facebook Comments Box