चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
झापा, ८ साउन – झापाको अर्जुनधारा नगरपालिकामा १७ जना अव्यवस्थित बसोबासीले चार दशकपछि जग्गाधनी प्रमाणपत्र अर्थात् लालपुर्जा प्राप्त गरेका छन्। ताप्लेजुङबाट चार दशकअघि झरेका ७२ वर्षीय जहरमान लिम्बूले वर्षौँदेखिको आफ्नै नाममा जग्गा हुने सपना पूरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँसँगै सपना सिवा दर्जी र उमादेवी तामाङसहित १७ जनालाई जिल्ला भूमि समस्या समाधान समिति झापाले लालपुर्जा वितरण गरेको हो।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले लालपुर्जा वितरणले भूमिहीन र अव्यवस्थित बसोबासीको वर्षौँदेखिको असुरक्षाको अन्त्य गरेको बताउनुभयो। प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले जोखिमयुक्त बस्तीबाहेक कसैलाई पनि विस्थापित नगर्ने सरकारको नीति रहेको उल्लेख गर्दै लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गर्नुभयो।
नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङका अनुसार वडा नम्बर ११ मा यसअघि १४४ जनाले लालपुर्जा प्राप्त गरिसकेका छन्। नगरपालिकाले ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित र ६ हजार ३५९ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
जिल्ला भूमि समस्या समाधान समिति झापाले वास्तविक लाभग्राहीलाई मात्रै पुर्जा वितरण गरिने जनाएको छ। साथै, जिल्लाका सबै स्थानीय तहमा पुर्जा वितरण अभियान अघि बढाइएको र आज मेचीनगरका पाँच जना अव्यवस्थित बसोबासीलाई पनि जग्गाधनी प्रमाणपत्र प्रदान गरिने भएको छ।

