भन्सार छलीका लत्ताकपडा, औषधि र कस्मेटिक बरामद, एक जना पक्राउ

विराटनगर । सशस्त्र प्रहरी बलले मोरङका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका लत्ताकपडा, औषधि तथा कस्मेटिक सामान बरामद गरेको छ। कारबाहीका क्रममा एक जना पक्राउ परेका छन् भने सामान ओसारपसारमा प्रयोग भएका सवारी साधनसमेत नियन्त्रणमा लिइएको छ। सशस्त्र प्रहरी बलका अनुसार बरामद गरिएको सामान, सवारी साधन र पक्राउ परेका व्यक्तिको अनुमानित मूल्य १४ लाख ८६ हजार ४८० रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनी, मोरङबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी सिटी सफारीमा ल्याउँदै गरिएको तीन लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो। त्यसै टोलीले बिल–बिजकविना कुरियरमार्फत पठाउन तयारी अवस्थामा रहेको पाँच लाख ८० हजार २८० रुपैयाँ बराबरका लत्ताकपडा तथा विभिन्न किसिमका कस्मेटिक सामग्री पनि बरामद गरेको जनाएको छ।

यसैबीच, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले मोरङका विभिन्न स्थानबाट पाँच लाख ५२ हजार ४६० रुपैयाँ बराबरका औषधि, स्कुटर, सिटी सफारी र कागती नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीले बरामद गरिएका सामान, प्रयोग गरिएका सवारी साधन तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालय, मोरङमा बुझाइएको जनाएको छ।

Facebook Comments Box