आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ,  २ साउन – जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो।

विभागका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। संभावित वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पार्न सक्ने जनाइएको छ। विभागले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पछ्याउन पनि अनुरोध गरेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। अधिकांश पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा वर्षासँगै केही स्थानमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहने र पहाडी तथा तराईका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Facebook Comments Box