कोलकाताबाट नेपालतर्फ ३० हजार मेट्रिक टन रासायनिक मल ढुवानी सुरु

काठमाडौँ, १ साउन – धान रोपाइँको मुख्य समयमा रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारले खरिद गरेको ३० हजार मेट्रिक टन रासायनिक मल नेपाल आउने प्रक्रिया सुरु भएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको उक्त मल भारतको कोलकाता बन्दरगाह आइपुगेको छ। त्यहाँबाट शुक्रबारदेखि नेपालतर्फ ढुवानी सुरु गरिएको हो। पहिलो चरणमा एक हजार २५० मेट्रिक टन मल नेपाल पठाइएको छ। यो खेप करिब चार दिनभित्र नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ।

बाँकी मल भने हाल कोलकाता बन्दरगाहमा प्याकेजिङको प्रक्रियामा रहेको छ। प्याकेजिङ सम्पन्न भएपछि बाँकी परिमाण पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ।

सरकारले किसानलाई आवश्यक समयमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले मल आयात तथा ढुवानीको कामलाई तीव्र बनाएको जनाएको छ।

Facebook Comments Box