काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने

काठमाडौँ, ३० जेठ — काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्रहरू छिट्टै सञ्चालनमा ल्याइने भएको छ। यी केन्द्र सञ्चालनमा आएपछि नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले धोबीखोला, गुह्येश्वरी र कोडकु क्षेत्रलगायत विभिन्न स्थानमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। शुक्रबार पूर्वाधार विकास मन्त्रालय, पीआईडी र एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिहरूले गुह्येश्वरी र धोबीखोलामा निर्माण भएका प्रशोधन केन्द्रहरूको संयुक्त अनुगमन तथा निरीक्षण गरेका छन्। गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्र प्रतिदिन करिब ३ करोड २५ लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्ने क्षमतासहित निर्माण गरिएको छ।

अनुगमन टोलीमा पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनी, पीआईडीका प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठ, एडीबीका नेपाल देशीय सञ्चालन प्रमुख अर्नाउड हेकम्यान तथा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मालगायत सहभागी हुनुहुन्थ्यो। निरीक्षणका क्रममा सचिव पुडासैनीले निर्माण सम्पन्न भइसकेका प्रशोधन केन्द्रहरूलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।

उहाँले काठमाडौँका केही क्षेत्रमा निर्माण सम्पन्न भइसकेका फोहोरपानी प्रशोधन केन्द्र अब ढिलाइ नगरी सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो। पीआईडी प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठका अनुसार धोबीखोला र गुह्येश्वरीका प्रशोधन केन्द्र सञ्चालनको अन्तिम तयारी भइरहेको छ। उहाँले नागरिकलाई दूषित पानीबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरण गर्न एडीबीको सहयोगमा यी केन्द्र निर्माण गरिएको र केही आयोजना सम्पन्न भइसकेकाले चाँडै सञ्चालनमा ल्याइने जानकारी दिनुभयो।

यी प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बागमती नदी तथा यसका सहायक नदीहरूमा प्रत्यक्ष मिसिने फोहोरपानीको मात्रा उल्लेख्य रूपमा घट्ने, नदीको पानीको गुणस्तर सुधार हुने तथा वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

Facebook Comments Box