बाँदरपीडित किसानद्वारा गाउँपालिका कार्यालय घेराउ, नियन्त्रणका लागि स्वयंसेवक परिचालन गरिने
खोटाङ, ३० जेठ — बाँदरको बढ्दो आतंकबाट पीडित जन्तेढुङ्गा गाउँपालिकाका किसानहरूले गाउँपालिका कार्यालय घेराउ गर्दै समस्या समाधानको माग गरेका छन्। वर्षभरि मेहनत गरेर लगाएको अन्नबाली र फलफूल बाँदरले नष्ट गरेपछि आक्रोशित किसानहरू शुक्रबार चिसापानीस्थित गाउँपालिका कार्यालय पुगेका हुन्।
प्लेकार्ड बोकेर नाराबाजी गरेका किसानहरूले गाउँपालिका अध्यक्ष अरुणादेवी राई र उपाध्यक्ष खेमबहादुर खड्कालाई भेटेर बाँदर नियन्त्रणका लागि दीर्घकालीन तथा प्रभावकारी उपाय अवलम्बन गर्न माग गरे। माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।
छलफलका क्रममा स्थानीय सूर्य राईले बाँदरका कारण किसानको जीवनयापन नै संकटमा परेको बताउँदै जनताको समस्या समाधानलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। उहाँले बाँदर र किसान एकैसाथ सुरक्षित रूपमा बाँच्न सक्ने अवस्था नरहेको भन्दै तत्काल समाधान खोज्नुपर्ने धारणा राख्नुभयो।
गाउँपालिका उपाध्यक्ष खड्काले बाँदर नियन्त्रणका लागि गाउँपालिकाले गत वर्षदेखि नै बजेट विनियोजन गरेको जानकारी दिनुभयो। उहाँका अनुसार बाँदरलाई मार्न कानुनी अनुमति नभएकाले नियन्त्रणका वैकल्पिक उपाय अपनाइँदैछ। यसका लागि स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिए पनि हालसम्म किसानबाट औपचारिक रूपमा समन्वय नभएको उहाँले बताउनुभयो।
विरोध कार्यक्रममा सहभागी हुन गाउँपालिकाका छवटै वडाका किसानहरू लामो दूरी पैदल हिँडेर चिसापानी पुगेका थिए। उनीहरूले बाँदरले खेतीपातीमा पुर्याएको क्षतिको उचित समाधान खोज्न र आवश्यक परे कानुनी व्यवस्था संशोधन गरी नियन्त्रणका प्रभावकारी उपाय लागू गर्न माग गरेका छन्।
गाउँपालिका अध्यक्ष राईले किसानको समस्याप्रति स्थानीय सरकार गम्भीर रहेको बताउँदै बाँदर नियन्त्रणका कार्यक्रम आगामी नीति तथा कार्यक्रममा समेत समावेश गरिने जानकारी दिनुभयो। उहाँले कानुनले बाँदर मार्न अनुमति नदिएकाले अन्य व्यावहारिक उपायको खोजी भइरहेको स्पष्ट पार्नुभयो।
पछिल्लो समय खोटाङका अधिकांश स्थानीय तहमा बाँदरको समस्या बढ्दै गएको छ। जङ्गलबाट गाउँ पसेका बाँदरले अन्नबाली र फलफूलमा क्षति पुर्याएपछि किसानहरू चिन्तित बनेका छन्। यसअघि दिक्तेल बजार क्षेत्रका किसानहरूले पनि बाँदर नियन्त्रणको माग गर्दै प्रदर्शन गरेका थिए।

