दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारीमा कामपा

काठमाडौँ, २० चैत – काठमाडौँ महानगरपालिका ले एम्बुलेन्स सेवालाई थप छिटो, वैज्ञानिक र सहज बनाउन दुईपाङ्ग्रे (मोटरसाइकल) एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी थालेको छ। कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल ले चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि नै बिरामीसम्म स्वास्थ्यकर्मी पुर्‍याउने उद्देश्यले यस्तो सेवा सुरु गर्न लागिएको जानकारी दिनुभयो। यसका लागि सम्बन्धित निकायहरूसँग प्रारम्भिक छलफल भइसकेको उहाँको भनाइ छ।

उहाँले आकस्मिक स्वास्थ्य अवस्थाका घटनामा छिटो प्रतिक्रिया दिन सक्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताउँदै स्वास्थ्य विभागलाई अध्ययन गरेर कार्यान्वयन प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ। सवारी चापका कारण एम्बुलेन्स ढिलो पुग्ने समस्यालाई मध्यनजर गर्दै मोटरसाइकलमार्फत तत्काल स्वास्थ्य सेवा पुर्‍याउने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

कामपाले २०७६ वैशाखदेखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ। हाल कामपाका सात, कीर्तिपुर अस्पतालमा एक, ललितपुरको सातदोबाटोमा एक र भक्तपुरको सल्लाघारीमा एक गरी विभिन्न स्थानमा एम्बुलेन्स राखेर सेवा प्रदान भइरहेको छ।

छलफलका क्रममा स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले उपत्यकाका अन्य पालिकासँग आर्थिक सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो भने वित्त विभाग प्रमुख डा. शिवराज अधिकारीले लागत घटाउँदै सेवा गुणस्तर बढाउनेतर्फ अध्ययन गर्नुपर्ने धारणा राख्नुभयो।

एम्बुलेन्स सेवासँग आबद्ध डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीका अनुसार कामपासँगको सहकार्यपछि हालसम्म ८४ हजार ४८९ बिरामीलाई सेवा प्रदान गरिएको छ। यस क्रममा ६९ जना गर्भवतीले एम्बुलेन्समै शिशु जन्माएका थिए। त्यसैगरी, कोभिड–१९ महामारीका समयमा मात्रै २३ हजार ५०० जनालाई सेवा दिइएको थियो।

उपत्यकामा एम्बुलेन्सले सम्पर्क गरेको आठ मिनेटभित्र बिरामीसम्म पुग्ने मापदण्ड कार्यान्वयन गर्न कुल ४९ वटा एम्बुलेन्स आवश्यक पर्ने देखिएको छ। सवारी चापका चुनौतीलाई सम्बोधन गर्ने रणनीति तयार गर्न पनि जोड दिइएको छ।

Facebook Comments Box