तुइन खोलाको पहिरो क्षेत्रमा ‘फ्लड लाइट’ जडान

चितवन, १ चैत – नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोला क्षेत्रको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ। सडकमा ढुङ्गा खस्ने जोखिमलाई ध्यानमा राख्दै रातको समयमा पनि स्पष्ट देखिनेगरी दुईवटा फ्लड लाइट जडान गरिएको हो।

सडक डिभिजन कार्यालय भरतपुर का सबइन्जिनियर हरिकुमार श्रेष्ठ का अनुसार शनिबार नेपाल विद्युत् प्राधिकरण सँगको समन्वयमा उक्त स्थानमा दुईवटा फ्लड लाइट जडान गरिएको हो। तुइन खोला क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने सम्भावनालाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देख्न सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो। लाइट जडान भएपछि पहिरो झरेको वा ढुङ्गा खसेको अवस्था सजिलै देख्न सकिनेछ।

साथै सो सडकखण्डमा सवारी चलाउँदा ‘ओभरटेक’ नगरी संयमित रूपमा यात्रा गर्न चालक तथा यात्रुलाई आग्रह गरिएको श्रेष्ठले जानकारी दिनुभयो।गत शुक्रबार मात्र काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको रात्रिबसको क्याबिनमा ढुङ्गा बजारिएको थियो। चालकको सतर्कताका कारण सम्भावित दुर्घटना टरेको थियो। गत वर्षायाममा तुइन खोला क्षेत्रमा पटक–पटक पहिरो जाँदा सडक अवरुद्ध हुँदै आएको थियो।

Facebook Comments Box