पर्यटन प्रवर्द्धनका लागि ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम आयोजना
झापा, १२ फागुन – ‘दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियान’ भन्ने नारासहित झापामा साइकलमार्फत जिल्ला परिक्रमा गर्ने कार्यक्रम आयोजना हुने भएको छ । जिल्लालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने तथा शून्यफोहर पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
साइक्लिङ क्लबद्वारा आयोजित ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम फागुन ३० गतेदेखि चैत २ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको मुख्य प्रवर्द्धकका रूपमा पर्यटन कार्यालय काँकरभिट्टा रहेको क्लबका अध्यक्ष आकाश श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमअन्तर्गत पहिलो पटक साइकलमा जिल्लाका १२ पालिकाको यात्रा गरिनेछ । पहिलो दिन ६० किलोमिटर दूरी तय गरिनेछ भने मेचीनगर नगरपालिका, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकबल, भद्रपुर नगरपालिका, हल्दीबारी र विर्तामोड नगरपालिका क्षेत्रको परिक्रमा गरिनेछ ।
यात्रा पर्यटन कार्यालय काँकरभिट्टाबाट सुरु भई बाहुनडाँगी, मदन भण्डारी राजमार्ग, बर्ने चिया बगान, अर्जुनधारा जलेश्वरधाम, सामुदायिक वन र जामुनखाडी सिमसार क्षेत्र हुँदै दोमुखामा टुङ्गिने जनाइएको छ । दोस्रो दिन ८० किलोमिटर यात्रा तय गरिएको छ । दोमुखाबाट सुरु भई माइधार, चिल्लागढधाम, शिवगञ्ज, हुलाकी मार्ग, झापा बजार, राजगढ, जलथल जङ्गल हुँदै नेपालको होचो स्थान कचनकबल पुगेर बनियानी बजारमा यात्रा समापन हुनेछ ।
तेस्रो तथा अन्तिम दिन ५० किलोमिटर यात्रा बनियानीबाट किच्चकबध, भद्रपुर, हल्दीबारी हुँदै विराटपोखरी भएर विर्तामोडमा पुगेर समापन गरिनेछ । यात्रामा ५० जना साइकलयात्री तथा २० जना गाइड, मेकानिक र स्वयंसेवक सहभागी हुनेछन् । सहभागीमध्ये कम्तीमा २० प्रतिशत महिला र २० प्रतिशत झापा बाहिरका रहने आयोजकले जनाएको छ ।
पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका साथै स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउने, सीमा क्षेत्र, धार्मिकस्थल, सिमसार र ग्रामीण भूभागलाई जोड्दै झापालाई साइकलमैत्री गन्तव्यका रूपमा चिनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

