निर्वाचनमा २६ दिन बाँकी : ३४ मध्ये २४ उम्मेदवारले आयोगलाई स्पष्टिकरण बुझाए

काठमाडौँ, २४ माघ – निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेका ३४ उम्मेदवारमध्ये २४ जनाले जवाफ बुझाएका छन्। बाँकी १० उम्मेदवारले भने हालसम्म स्पष्टिकरण नबुझाएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राजनीतिक दल तथा सम्बन्धित उम्मेदवार गरी ३४ जनासँग स्पष्टिकरण सोधिएकामा २४ जनाबाट जवाफ प्राप्त भएको हो। बाँकी उम्मेदवारको जवाफ आउन बाँकी छ। आयोगले आचारसंहिताको प्रभावकारी पालना सुनिश्चित गर्न प्राप्त उजुरीका आधारमा आवश्यक छानबिन र कारबाही प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

आचारसंहिता उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन अधिकृत र सम्बन्धित निर्वाचन कार्यालयहरू सक्रिय रूपमा परिचालित छन्। निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम जिल्लास्तरमा आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको आयोगले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका विषयको अनुगमन गर्ने अधिकार दिइएको छ। यस्तै, आर्थिक विषयको अनुगमनका लागि जिल्लास्थित प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकलाई आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।

छोटो समयमै सबै जिल्लामा सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा भइरहेको आयोगको भनाइ छ। जिल्लास्तरमा प्राप्त भएका आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमाथि आवश्यक कारबाही भइरहेको पनि आयोगले जनाएको छ।

Facebook Comments Box