काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित
काभ्रेपलाञ्चोक, २७ पुस – मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटा यतिबेला बारीमा फलेको काउली बिक्री गर्न भ्याइनभ्याईमा हुनुहुन्छ । गत वर्षको तुलनामा यस वर्ष काउलीले राम्रो बजारभाउ पाएपछि लगानी उठेर थप आम्दानी हुने अपेक्षाले उहाँ उत्साहित हुनुहुन्छ । “गत वर्ष लगानी नै उठाउन मुस्किल भयो, तर यस वर्ष काउलीको बजारभाउ राम्रै छ,” सापकोटाले भन्नुभयो ।
करिब चार रोपनी बारीमा काउली रोप्नुभएका सापकोटाले यस वर्ष करिब पाँच हजार किलो काउली बिक्री गर्ने लक्ष्य राख्नुभएको छ । यद्यपि केही रोगका कारण उत्पादन भने गत वर्षको जति नभएको उहाँ बताउनुहुन्छ । स्थानीय किसानका अनुसार यसपालि काउलीमा देखिएको रोगका कारण उत्पादन केही घटेको हो ।
हाल बजारमा काउली प्रतिकिलो रु ४५ देखि रु ५० सम्ममा बिक्री हुन थालेपछि सापकोटासँगै राम्चेबेँसीका अन्य किसान पनि उत्साहित देखिएका छन् । गत वर्ष मूल्य नपाउँदा किसानको लगानी नै जोखिममा परेको थियो । विगतका वर्षजस्तै यस वर्ष पनि मण्डनदेउपुर–११ राम्चेबेँसीका करिब १३० किसानले काउली खेती गरेका छन् ।
यहाँ काउली, बन्दा, गोलभेँडालगायत तरकारीको राम्रो उत्पादन हुन्छ । तर बजारभाउ नपाउँदा कहिलेकाहीँ किसान मर्कामा पर्ने गरेको सापकोटा बताउनुहुन्छ । “यस वर्ष भने समस्या देखिँदैन जस्तो लागेको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार यस याममा यहाँ दैनिक करिब एक हजार किलोसम्म काउली उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित काउली मुख्यतः बनेपा र काठमाडौँ बजारमा पुग्ने गरेको छ ।
यस वर्ष एउटै किसानले एक याममै काउली, बन्दा र गोलभेँडा बिक्री गरेर रु पाँच लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेको पाइएको छ । तर उपभोक्ताले बजारमा काउली प्रतिकिलो रु ९० सम्म तिर्नुपर्दा किसानले भने रु ४० देखि रु ४५ मात्र पाउने गरेका छन् ।
“काउली प्रतिकिलो रु ४० भन्दा तल झरेन भने लगानी उठाएर केही बचत गर्न सकिन्छ,” स्थानीय किसान गायत्री सापकोटाले भन्नुभयो । उहाँका अनुसार काउली खेतीमा बारी तयारीदेखि बेर्ना रोप्ने, गोडमेल, मलजल र विषादी प्रयोगसम्म ठूलो मिहिनेत आवश्यक पर्छ । “यति दुःख गर्दा पनि मूल्य नपाउँदा किसान मर्माहत हुन्छन्, यस वर्ष त्यस्तो नहुने देखेर हामी उत्साहित छौँ,” उहाँले भन्नुभयो ।
स्थानीय चिरञ्जीवी सापकोटा दम्पतीलाई पनि यतिबेला काउली काट्ने र बजार लैजान चटारो छ । साँझ व्यापारी बारीमै तरकारी लिन आउने भएकाले समय मिलाएर काउली उखेल्नुपर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ । “व्यापारीकै भरमा तरकारी दिन्छौँ, समय अभावले आफैँ बजार जान सकिँदैन,” उहाँले भन्नुभयो । हाल व्यापारीले प्रतिकिलो काउली रु ४० देखि रु ४५ मा खरिद गर्ने गरेका छन् ।
अर्का किसान कृष्णप्रसाद सापकोटाका अनुसार तरकारीको उचित मूल्य नपाउँदा किसान निराश हुनु स्वाभाविक हो । “अन्य मुलुकबाट तरकारी आयात हुँदा नेपाली किसानले उचित मूल्य पाउँदैनन्, सरकारले किसानको पक्षमा ठोस नीति लिनुपर्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार मल र बीउ समयमा नपाउनु तथा लगानी डुब्ने जोखिम यहाँका किसानका प्रमुख चुनौती हुन् ।
राम्चेबेँसीमा हरेक वर्ष सयौँ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती हुँदै आएको छ । गत वर्ष प्रतिकिलो रु १५ मा समेत काउली बिक्री नहुँदा खेतमै काउली जोत्नुपरेको तीतो अनुभव किसानसँग छ । “बजार लैजाने खर्चसमेत नउठेपछि कतिपय किसानले काउली खेतमै जोते,” गायत्री सापकोटाले स्मरण गर्नुभयो । स्थानीय किसानले आफूहरूलाई पायक पर्ने स्थानमा नियमित ‘हाटबजार’को व्यवस्था गरिदिन नगरपालिकासँग माग गरेका छन् ।

