निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ नागरिक लाभान्वित

धुलिखेल, २४ पुस – काभ्रेपलाञ्चोकको डाँडापारि अवस्थित महाभारत गाउँपालिका–८ घर्तिछापमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ६७६ जना नागरिक लाभान्वित भएका छन्। महाभारत गाउँपालिकाको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा सञ्चालन गरिएको शिविरमार्फत स्थानीयले गाउँमै स्वास्थ्य सेवा प्राप्त गरेका हुन्।

शिविरमा विद्यालय स्वास्थ्य उपचार सेवाअन्तर्गत विद्यार्थीहरूको नाक, कान र घाँटीसम्बन्धी रोगको परीक्षण, उपचार तथा परामर्श प्रदान गरिएको थियो। यसका साथै मुख तथा दाँतसम्बन्धी रोग, आँखा रोगको परीक्षण, उपचार तथा आवश्यकताअनुसार चस्मा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले जानकारी दिनुभयो। मुटुरोग परीक्षण, रक्त समूह जाँच तथा कार्ड वितरणसमेत गरिएको उहाँले बताउनुभयो।

त्यसैगरी विशेषज्ञ चिकित्सकमार्फत सामान्य स्वास्थ्य परीक्षण, प्रसूति तथा स्त्री रोग सेवा, क्षयरोग पहिचानका लागि छातीको एक्स–रे, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा उपलब्ध गराइएको थियो। नसर्ने रोग पहिचानका लागि रक्तचाप मापन, निःशुल्क परिवार नियोजन सेवा, पाठेघर खस्ने समस्या जाँच तथा उपचार, पाठेघरको मुखको क्यान्सर सम्भावना परीक्षण तथा अपाङ्गता परिचयपत्र वितरणका लागि शारीरिक परीक्षण सेवा पनि प्रदान गरिएको प्रमुख विष्टले जानकारी दिनुभयो।

शिविरमा दाँत परीक्षण १६८ जना र आँखा परीक्षण ३०० जनाले गराएका थिए। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ २३३ जना, रक्त समूह परीक्षण १८६ जना, बालबालिकाको नाक, कान, घाँटी तथा मुटु परीक्षण २३२ जना, छाती परीक्षण २७१ जना, सामान्य स्वास्थ्य परीक्षण ३८१ जना तथा प्रसूति, स्त्री रोग तथा प्रजनन स्वास्थ्य सेवाबाट ११० जना लाभान्वित भएका छन्।

कार्यक्रमको उद्घाटन गर्दै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले स्वास्थ्य सेवा लिन भकुण्डे, धुलिखेल वा बनेपासम्म जानुपर्ने बाध्यताको अन्त्य गर्दै गाउँमै सेवा उपलब्ध गराउनु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताउनुभयो।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा अस्पताल नहुँदा अस्पतालकै अनुभूति दिने उद्देश्यले प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र यस वर्ष घर्तिछापमा आयोजना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य क्षेत्रमा थप सुधारका लागि हाल अस्पताल भवन निर्माणको काम भइरहेको र आगामी दिनमा गाउँमै अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित पालिका अघि बढिरहेको उहाँले बताउनुभयो।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रागीश्री कक्षपतीले विद्यालयमा अध्ययनरत बालबालिका तथा वयस्क नागरिकलाई लक्षित गर्दै परिवार नियोजन, स्त्री रोग तथा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत नसर्ने रोगको स्क्रिनिङ सेवा प्रदान गरिएको जानकारी दिनुभयो।

शिविरमा मेथिनकोट अस्पताल नौविसे भकुण्डे, शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, सिन्धुली अस्पताल सिन्धुली, ख्वप अस्पताल भक्तपुर तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए।

Facebook Comments Box