आगामी जेठमा एभरेष्ट टुरिजम अवार्ड र विश्व शान्ति सम्मेलन
काठमाडौँ, १६ पुस – एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी जेठ १५ गते दोस्रो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड–२०२६’ तथा ‘विश्व शान्ति सम्मेलन’ आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा दिगो पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाकी अध्यक्ष सत्यकला तामाङ लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अवार्ड कार्यक्रमले नेपालको पर्यटन, कला, संस्कृति र हिमाल संरक्षणलाई एउटै मञ्चमा जोड्दै दिगो पर्यटनको सन्देश प्रवाह गर्नेछ । “दिगो पर्यटनबिनाः हिमाल संरक्षण सम्भव हुँदैन, र हिमाल नहुने हो भने नेपालको पर्यटन पहिचान पनि रहँदैन,” उहाँले भन्नुभयो । गत वर्ष पहिलो पटक आयोजना गरिएको कार्यक्रम सफल भएपछि यस वर्ष पनि निरन्तरता दिइएको उहाँको भनाइ छ ।
गत वर्ष पर्यटन क्षेत्रका विभिन्न विधामा महत्वपूर्ण योगदान दिने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख सल्लाहकार नामगेल शेर्पाले पर्वतारोही, आइसफल डाक्टर, मजदुर, पत्रकार, समाजसेवी, अनुसन्धानकर्तालगायतलाई सम्मान गरिने जानकारी दिनुभयो । यसका लागि निर्णयक मण्डलसमेत गठन गरिएको र कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको उपस्थिति रहने उहाँले बताउनुभयो ।
कम्पनीका प्रबन्ध निर्देशक फुर्बा ग्याल्बो मोक्तानले विश्व शान्ति सम्मेलनमार्फत जलवायु सङ्कटका असरबारे अन्तर्राष्ट्रियस्तरमा आवाज उठाइने जानकारी दिनुभयो । सम्मेलनको मुख्य उद्देश्य साझा जलवायु चुनौतीबारे चेतना फैलाउनु रहेको उहाँको भनाइ थियो ।
सल्लाहकार महेश किरातीले पहिलो पटक सगरमाथा आरोहण भएको दिनको सम्झनामा दुवै कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार सन् १९५३ मे २९ मा सर एड्मन्ड हिलारी र तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरेर मानव साहस र नेपाली गौरवको इतिहास रचेका थिए, सोही दिनको सम्झनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै आएको छ ।

