अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी

काठमाडौँ, ५ मङ्सिर – नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्राधिकरणले नेपालमा दर्ता हुने संयुक्त कम्पनीमा एक अर्ब रुपैयाँ र भारतमा स्थापना गरिने संयुक्त कम्पनीमा दुई अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी गर्नेछ।

नेपाल र भारतका उच्चस्तरीय सरकारी अधिकारीबीच इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली चार–चार सय केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति यसअघि नै भइसकेको छ। विद्युत् आदान–प्रदानका लागि महत्त्वपूर्ण मानिएका यी प्रसारण लाइन सन् २०३० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

संयुक्त कम्पनीको स्वामित्व संरचना अनुसार नेपालतर्फ स्थापना हुने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र भारतीय कम्पनी पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेडको ४९ प्रतिशत सेयर हुनेछ। भारतमा दर्ता हुने कम्पनीमा भने पावर ग्रिडको ५१ र प्राधिकरणको ४९ प्रतिशत सेयर रहनेछ।

नेपालमा स्थापना हुने संयुक्त कम्पनीको स्वपुँजी प्राधिकरणको आन्तरिक स्रोतबाट जुटाइनेछ। भारतमा लगानी गर्न प्रतिबन्ध गरेको ऐन, २०२१ को दफा ३(२) बमोजिम यस परियोजनामा छुट दिइएको ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले बताए। मन्त्रिपरिषद्को निर्णयपछि आवश्यक सूचना राजपत्रमा प्रकाशित भइसकेको छ।

Facebook Comments Box