बागमती प्रदेशका मुख्य आर्थिक चुनौती र सम्भावना
काठमाडौँ, २६ कात्तिक – नेपाल राष्ट्र बैंकको “आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन” अनुसार बागमती प्रदेशमा भौतिक पूर्वाधार, स्वास्थ्य सेवा, खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, र व्यवस्थित बस्ती विकासजस्ता क्षेत्रहरूमा ठूला चुनौती रहेका छन्।
अध्ययनले प्रदेशमा प्राकृतिक प्रकोपको उच्च जोखिम रहेको जनाउँदै, त्यसको रोकथाम र क्षति न्यूनीकरण गर्न कठिनाइ भएको बताएको छ। शिक्षामा गुणस्तरीय सुधार, स्वास्थ्य सेवा सबैसम्म पुर्याउने, र कृषियोग्य जमिनको संरक्षण प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
सहरी क्षेत्रको तीव्र जनसंख्या वृद्धि र पहाड–हिमाली क्षेत्रबाटको बसाइँसराइका कारण कृषियोग्य भूमि घट्दै गएको छ। जलवायु परिवर्तनका असरबाट कृषि, जलविद्युत्, उद्योग र सेवामा नकारात्मक प्रभाव पर्ने सम्भावना भएकाले दिगो विकासका लागि लगानी बढाउनुपर्ने अध्ययनले सुझाएको छ। उद्योग स्थापनामा जग्गाको मूल्य वृद्धिले निजी क्षेत्रलाई प्रभावित पारेको र उत्पादन प्रतिस्पर्धात्मक बनाउन कठिन भएको उल्लेख छ।
तर, बागमतीमा चुनौतीसँगै उल्लेख्य आर्थिक सम्भावना पनि छन्। काठमाडौं, भक्तपुर र ललितपुरका ऐतिहासिक स्थलहरूले धार्मिक–सांस्कृतिक पर्यटनमा योगदान दिन सक्ने, पर्याप्त पर्यटकीय पूर्वाधार र व्यस्त अन्तर्राष्ट्रिय विमानस्थलका कारण छिटो आर्थिक विकासको सम्भावना रहेको अध्ययनमा उल्लेख छ।
प्रदेशमा कृषि, पर्यटन, जलविद्युत् र व्यापार क्षेत्रमा लगानीको उच्च सम्भावना छ। सूचना प्रविधिको विस्तारले दिगो आर्थिक वृद्धिका अवसर बढाएको छ भने उच्च बहावयुक्त नदीहरूको प्रयोगबाट जलविद्युत् उत्पादन विस्तार गर्न सकिने देखिएको छ। अध्ययनले कृषि क्षेत्रमा नयाँ प्रविधि र जडिबुटी खेतीमार्फत उत्पादन र आय वृद्धि गर्न सकिने, साथै पर्यटन प्रवर्द्धनमार्फत प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना गर्न सकिने निष्कर्ष निकालेको छ।
आर्थिक सूचकांकहरू अनुसारः
-
आर्थिक वृद्धि दर (आ.व. २०८१/८२): ५.२% (गत वर्ष ३.७%)
-
कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा): रु २२ खर्ब ३० अर्ब २३ करोड
-
क्षेत्रगत योगदान: कृषि ११.८%, उद्योग ११.१%, सेवा ७७.१%
-
प्रमुख अंश: थोक तथा खुद्रा व्यापार, घरजग्गा कारोबार (१५.२%), वित्तीय तथा बीमा (११.२%), यातायात तथा भण्डारण (९.३%)

