सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँको मौलिकता
मुस्ताङ, ३१ असोज – झण्डै पाँच सय वर्षअघि मुस्ताङको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए। पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म उनको राज्य फैलिएको थियो। राजा थर्कोचेनको राज्य सुरक्षा सुनिश्चित गर्न बसाइएको बस्ती हो— घरपझोङ–१ चिमाङ गाउँ। इतिहास अनुसार ठिनी गाउँका तीन गाउँले थकाली समुदायमध्येका एक, ध्याकल फोपे समूह, लाई सिमाना कुर्ने जिम्मेवारी दिई यहाँ बस्ती बसालिएको थियो।
चाखोपानी खोलाको भिरालो थुम्कोमा अवस्थित करिब तीन हजार मिटर उचाइको यो गाउँ त्यसबेलादेखि नै सिमाना रक्षकहरूको बस्तीका रूपमा रहँदै आएको छ। गाउँका अगुवा इन्द्रप्रसाद थकालीका अनुसार प्रारम्भिक समयमा ठिनीबाट ल्याइएका ध्याकल फोपे समूहलाई राजाले सिमाना रक्षाका साथै पूजापाठ र झारफुकको जिम्मा पनि दिएका थिए। त्यसपछि यहाँ ध्याकल र झाँक्री फोपे समूहको संयुक्त बस्ती बसालिएको जनश्रुति छ।
कालीगण्डकी पारि अग्लो भेगमा अवस्थित चिमाङ आज पनि कृषि–प्रधान गाउँका रूपमा परिचित छ। सुरुमा ३५ घरपरिवार रहेको बस्ती अहिले मिश्रित बसोबासमा परिणत भएको छ। हाल एकतिहाइ घरपरिवारले रोजगारी र व्यापारका लागि पोखरा, काठमाडौँजस्ता सहरतिर बसाइँ सरेका छन्। गाउँमा कृषिबाहेक अन्य अवसर सीमित भएकाले युवा पुस्ता पलायन बढेको स्थानीयको भनाइ छ।
तर, रुकुम, धादिङ र म्याग्दीबाट नयाँ बासिन्दा आएर बस्न थालेका छन्। गाउँमा दलित समुदायका करिब पाँच–छ घर रहेका छन्। ठिनी, स्याङ र चिमाङ — यी तीन गाउँ मिलेर “तीन गाउँले थकाली समुदाय” बनाएका छन्। भिरालो ढुंगामाटो घरहरू, परम्परागत ढाँचा र निलगिरि हिमालको फेदमा फैलिएको हरियो जंगलले चिमाङको दृश्य लोभलाग्दो बनाएको छ। भौगोलिक कठिनाइका बीच पनि यो गाउँ थकाली संस्कृतिको मौलिक प्रतीकका रूपमा चिनिन्छ।
अतीतमा शिक्षा, स्वास्थ्य, खानेपानी र प्रशासनिक सेवा अत्यन्त असहज भए पनि पछिल्लो समय गाउँमा आधारभूत विद्यालय, स्वास्थ्य चौकी, बिजुली र सडक पहुँच पुगेका छन्। अब गाउँसम्म मोटर गुड्न थालेको र कालीगण्डकी नदीमा पक्की पुल बनेपछि चिमाङको स्वरूपमा नयाँ परिवर्तन आएको छ।
तर, जलवायु परिवर्तन र वन्यजन्तुको समस्याले गाउँलेको जीवन चुनौतीपूर्ण बनेको छ। हिउँ नपर्दा स्याउ र अन्नबालीमा रोगकीरा फैलिएको छ भने, हिमाली कालो भालुले खेतबारीमा क्षति पुर्याउने समस्या बढेको छ। किसानहरू रातभरि टिन ठटाएर भालु धपाउने बाध्यतामा छन्। एक्यापद्वारा तारबार लगाइए पनि समस्या यथावत् रहेको स्थानीयको गुनासो छ।
चिमाङले पर्यटनमा पनि ठूलो सम्भावना बोकेको छ। यहाँबाट धवलागिरि, मानापाथी र निलगिरि हिमाल अत्यन्त आकर्षक देखिन्छन्। गाउँ वरिपरिका स्याउबगान, स्याङ, मार्फा, छैरो, टुकुचे, कोवाङ र नाउरीकोटजस्ता बस्तीहरू पनि चिमाङबाट देख्न सकिन्छ। साथै, जङ्गल सफारी र गुफा भ्रमणका लागि यहाँ पदमार्ग निर्माण गरिएको छ।
तर पछिल्लो समय पदमार्ग जीर्ण हुँदै गएको र पर्यटक चहलपहल घटेको स्थानीयले बताउँछन्। वर्षा बढी हुन थालेपछि भिरालो भूभागमा रहेका पुराना घरहरू पनि जोखिममा परेका छन्। अगुवा थकाली भन्छन्, “पहिले त ठिकै थियो, अहिले वर्षा बढी हुँदा भिर भासिने डर छ। बस्ती नै नरहला कि भन्ने चिन्ता छ।”
पुराना परम्परागत घरहरू वर्षौँको घामपानीले जीर्ण बन्दै गएको र संरक्षणमा राज्यको ध्यान नपुगेको उनीहरूको गुनासो छ। स्थानीयको आग्रह छ — “सांस्कृतिक मौलिकता बोकेका यस्ता घर जोगाउन सरकारले विशेष अनुदान कार्यक्रम ल्याओस्।”

