ट्रक दुर्घटना एक जनाको मृत्यु, एक घाइते
धनकुटा, असोज २७ – धनकुटाको साँगुरीगढी गाउँपालिका–९ स्थित पाँचगोलाइमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। सोमबार बिहान करिब २ बजे गाडी अनियन्त्रित भइ सडकबाट तल खस्दा दुर्घटना भएको थियो।
-
मृत्यु हुने व्यक्ति: सह–चालक नारायण खड्का, २६, उदयपुरगढी गाउँपालिका–९, उदयपुर
-
घाइते चालक: दिनेश क्षेत्री, करिब १९, रानिटार, उदयपुर
धनकुटाबाट सब्जी लिएर धरान जाँदै गरेको प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनि ट्रक करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो।दुर्घटनास्थलमा प्रचौ मुलघाटबाट प्रहरी टंक बहादुर कटवालको नेतृत्वमा पाँच जना प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेर उद्धार कार्यमा जुटेका थिए।
सह–चालक खडकालाई बिहान ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए भने चालक क्षेत्री प्रहरीको निगरानीमा जिल्ला अस्पताल धनकुटामा उपचार भैरहेको छ। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटाको शव गृहमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

