आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने
काठमाडौँ, १९ असोज – हाल बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव कायम रहेकाले देशभर वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली, बागमती र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
महाशाखाद्वारा जारी मौसम बुलेटिनअनुसार कोशी र मधेस प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। ती प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

