गत वैशाखदेखि हालसम्म विपद्का घटनामा २४३ जनाको मृत्यु
काठमाडौँ, ४ असोज — गत वैशाखदेखि अहिलेसम्म देशभर ३ हजार ६८१ विपद्का घटना दर्ता भएका छन् । यी घटनाबाट ६ हजार ५९० परिवार प्रभावित भएका छन् भने २४३ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यस अवधिमा ८६९ जना घाइते र २४ जना बेपत्ता भएका छन् ।
सबैभन्दा धेरै आगलागीका १ हजार २९५ घटना भएका छन् । यसमा २३ जनाको मृत्यु, १७७ जना घाइते र १ हजार ४११ परिवार प्रभावित भएका छन् । त्यस्तै, २६३ बाढीका घटनामा २९ जनाको मृत्यु, २३ बेपत्ता र १ हजार ८६१ परिवार प्रभावित भएका छन् ।
४६३ पहिरोका घटनामा २४ जनाको मृत्यु र ४१ जना घाइते भएका छन् । भारी वर्षाका ३४० घटनामा ६ जनाको ज्यान गयो भने ८११ परिवार प्रभावित भए । यस्तै, चट्याङका २९० घटनामा ३८ जनाको मृत्यु, २१२ घाइते र ३५१ परिवार प्रभावित भएका छन् ।
सर्पदंशका ३०४ घटनामा ७७ जनाको मृत्यु भएको छ । वन डढेलोका १८५ घटनामा २ जना घाइते भए भने २७ परिवार प्रभावित भए । हावाहुरीका २८४ घटनामा ८ जनाको मृत्यु र ५४१ परिवार प्रभावित भए । जनावर आक्रमणका २१७ घटनामा २० जनाको मृत्यु र ८८ जना घाइते भएका छन् । प्राधिकरणका अनुसार, विपद् न्यूनीकरणका लागि पूर्वसावधानी, सचेतना र पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको छ ।

