मुस्ताङ इको म्युजियम प्रचार–प्रसारको अभावमा ओझेलमा

मुस्ताङ, १९ भदौ – मुस्ताङको घरपझोङ गाउँपालिका–३, पुथाङ विमानस्थल नजिकै अवस्थित ‘मुस्ताङ इको म्युजियम’ प्रचार–प्रसार र प्रभावकारी व्यवस्थापन नहुँदा अपेक्षित पर्यटक आकर्षण गर्न नसकेको गुनासो आएको छ।

सन् १९९७ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को साझेदारीमा स्थापना गरिएको यो म्युजियम सुरुमा एक्यापले सञ्चालन गर्दै आएको थियो। पछि सञ्चालनको जिम्मा स्थानीय सहकारीलाई दिइए पनि २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि सात वर्षसम्म बन्द रह्यो।

२०७६ मा एक्यापले स्वामित्व गाउँपालिकामा हस्तान्तरण गरेपछि पुनःनिर्माण गरिएको म्युजियम अहिले पुथाङ आमा बहुउद्देश्यीय सहकारी संस्थाले वार्षिक भाडा बुझाएर सञ्चालन गर्दै आएको छ। हाल दुई जना कर्मचारीमार्फत सञ्चालनमा रहेको म्युजियम ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्व झल्काउने सामग्रीहरूले भरिपूर्ण छ।

म्युजियमभित्र मुस्ताङको कृषि, पर्यटन, जैविक विविधता, जडीबुटी, खनिज, शालग्राम शिला, वेशभूषा, फोटो ग्यालरी, लाइब्रेरी तथा प्राचीन धर्मसंस्कृतिसम्बन्धी सामग्री राखिएका छन्। त्यस्तै, एकाइ कावागुचीका तस्बिर र अभिलेख पनि सङ्ग्रहित छन्।

स्थानीयले उचित प्रचार–प्रसार भए मुक्तिनाथ दर्शन गर्न आउने तथा उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास लिएका छन्। कार्यरत कर्मचारी नारायणी गुरुङका अनुसार, केही महिनामा पर्यटकको संख्या बढ्ने गरे पनि समग्र वर्षभर पर्याप्त चहलपहल छैन।

हालै गाउँपालिकाले म्युजियमसम्म पुग्न रेलिङसहितको सिँढी, बाटो र स्वागत गेट निर्माण गरेको छ। परिसरमा स्याउ, सल्ला, धूपीका बिरुवा रोपिएको छ। पुथाङ विमानस्थलबाट पैदल १० मिनेटमै पुग्न सकिने भएकाले यसलाई पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने सरोकारवालाको सुझाव छ।

Facebook Comments Box