सिन्धुपाल्चोकमा पाँच वर्षदेखि पुल निर्माण अधुरो
चौतारा, ८ भदौ
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र छ। करिब रु ८ करोड लागतमा दुई वर्षमै सम्पन्न गर्ने गरी सूर्य जेभी निर्माण कम्पनीलाई जिम्मा दिइएको ६३ मिटर लामो पुल विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले शिलान्यास गर्नुभएको थियो। तर हालसम्म काम पूर्ण रूपमा अघि बढ्न सकेको छैन।
जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार स्थानीय सरकार र जनप्रतिनिधिले पटक–पटक निर्माण अघि बढाउन आग्रह गरे पनि ठेकेदारले बेवास्ता गर्दै आएको छ। “पुल बनेपछि साविकको सेलाङ र गोल्चे क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् तर निर्माण ढिलाइ हुँदा जनताले दैनिक सास्ती भोग्नुपरेको छ,” उहाँले भन्नुभयो।
मुख्य ठेकेदारले पेटी ठेकेदारलाई जिम्मा दिएपछि सम्पर्कमै नआएको आरोप उपाध्यक्ष श्रेष्ठले लगाउनुभयो। तर कम्पनीका प्रोपाइटर गणेश आर्चाय भने “ड्रइङ–डिजाइन” एप्रुभ भए पनि सडक डिभिजन कार्यालय चरिकोटले भिओ (भ्यालुएसन अफिसर) नबनाइदिएकाले काम अघि बढ्न नसकेको दाबी गर्नुहुन्छ। उहाँले दुई वर्षदेखिको बिल भुक्तानीसमेत रोकिने गरेको उल्लेख गर्नुभयो।
सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख आकाश श्रेष्ठले पुलको बीच पिलर १० इन्च फरक परेपछि ड्रइङ पुनः तयार गरी एप्रुभ गरिएको बताउँदै अब भिओ र बिल भुक्तानी रोकिने कारण नरहेको स्पष्ट पार्नुभयो। जुगल गाउँपालिका–५ का वडाध्यक्ष रवीन्द्र घिमिरेले जीर्ण झोलुङ्गे पुलमा आवतजावत गर्दा स्थानीयलाई जोखिम बढेको र नयाँ पुल निर्माण ढिलाइ हुँदा जनजीवन प्रभावित भएको बताउनुभयो।

