टप एण्ड टी–२० सिरिजमा नेपालको लगातार दोस्रो हार
काठमाडौं, ३१ साउन
स्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेको छ। आइतबार भएको खेलमा नेपाल बंगलादेश ‘ए’ सँग २९ रनले पराजित भयो।
१८४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५४ रन मात्रै बनाउन सक्यो। नेपालका लागि कुशल मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा अविजित ५९ रन प्रहार गरे पनि जितका लागि पर्याप्त भएन।
बंगलादेशका रकिबुल हसनले ३ विकेट लिए भने सेफ हसन, रिपोन मन्डल र मृत्युन्जय चौधरीले १–१ विकेट हात पारे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन जोडेको थियो। ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रनको योगदान दिए।
नेपालका लागि रिजन ढकालले २ विकेट लिँदा नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए।नेपाल यसअघि पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजित भएको थियो। अब नेपालले मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।

