कांग्रेससँग जेन्जी युवा नजोडिए भविष्य संकटमा पर्न सक्छः डा. शेखर कोइराला
विराटनगर, १७ साउन – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान जेनेरेशन जेड (Gen Z) पुस्तालाई कांग्रेससँग जोड्न नसके पार्टीको भविष्य नै संकटमा पर्न सक्ने चेतावनी दिएका छन्।
कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने भन्दै कोइरालाले लोकतन्त्रबिना नेपाली जनता बाँच्न नसक्ने स्थिति आउने बताए। बलियो कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्ने उल्लेख गर्दै उनले बलियो कांग्रेस बनाउन नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका–४ कार्यसमितिद्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र राष्ट्रिय विकासमा कांग्रेसको योगदान तथा भूमिकाबारे युवालाई स्पष्ट बुझाउन जरुरी रहेको बताए।
राजनीतिप्रति युवाहरूमा देखिएको वितृष्णालाई आकर्षणमा बदल्नु वर्तमान चुनौती भएको उल्लेख गर्दै उनले कांग्रेसले युवालाई लक्षित कार्यक्रमहरूमार्फत सक्रिय बनाउनु पर्ने आवश्यकता औंल्याए।

