वैशाखयता विपद् घटनामा ८४ जनाको मृत्यु, २६ बेपत्ता

काठमाडौं, असार २७ ण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख १ गतेदेखि असार २६ गतेसम्म देशभर विभिन्न विपद्का घटनामा परेर ८४ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन्।

सबैभन्दा बढी ज्यान चट्याङ लागेर गएको छ जहाँ २४ जनाको मृत्यु भएको छ र १५५ जना घाइते भएका छन्। चट्याङपछि आगलागीका घटनामा १३ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन्।

त्यस्तै, जनावर आक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने उच्च हिमाली क्षेत्रमा लेक लागेर ११ जनाको ज्यान गएको छ।वर्षा, बाढी र पहिरोमा परेर १५ जनाको मृत्यु भएको छ भने असिना र हावाहुरीका कारण आठ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। साथै, सर्पको टोकेर २ जनाको मृत्यु भएको छ।

यसै अवधिमा जनावरको आक्रमणबाट ४३ जना, हावाहुरीबाट ३७ जना, लेक लागेर २४ जना, पर्सले डसेर २२ जना, बाढीपहिरोमा १३ जना, वन डढेलोमा २ जना, असिनाबाट १ जना र डुंगा पल्टेर १ जना घाइते भएका छन्। विशेषगरी बिहीबार मात्रै ४ जनाले विपद्का घटनामा ज्यान गुमाएका छन् भने ६ जना घाइते र ६ जना बेपत्ता भएका छन्।

Facebook Comments Box