सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला आज

काठमाडौँ , १३ पुुस – काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला आज गर्ने तयारी गरेको छ। न्यायाधीश शिशरराज ढकालको इजलासले शुक्रबार जवाफी बहस पनि सकेर फैसला सुनाउने तयारी गरेका हुन्।

बिहीबारदेखि प्रतिवादी सन्दीप पक्षका वकिलले बहस गरिरहेका छन्। बिहीबार पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस नसकिएकाले आज पनि निरन्तरता दिइनेछ। त्यसपछि सन्दीपकै तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरेले पनि बहस गर्ने छन्। त्यसपछि जाहेरवाला र सरकारी वकिलले जवाफी बहस गर्नेछन्, त्यसका लागि एक घण्टाको समय तोकिएको छ।

जवाफी बहस सकिएपछि अदालतले फैसला सुनाउनेछ। बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, शम्भु थापा, मुरारी सापकोटा, सविता भण्डारी बराल र रोशनी पौडेलले बहस गरेका थिए। उनीहरूले सन्दीप निर्दोष रहेको जिकिर गर्दै सफाइ दिन माग गरेका छन्।

यो मुद्दामा आइतबारदेखि न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ भइरहेको हो। आइतबार र बुधबार जाहेरवाला र अभियोजन पक्षले बहस गरेका थिए। पीडितका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका न्यायाधिवक्ता सीताराम अर्याल र सहायक न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरे।

अधिवक्ताहरू मोहना अन्सारी, शान्ति रिजाल, आश्मा आचार्य, अनिता थपलिया, वरिष्ठ अधिवक्ता शशी अधिकारी, नारायाण चौलागाईं, प्रतिमा कँडेल खरेल र लेखनाथ भट्टराईले पनि बुधबार बहस गरे। उनीहरूले बलात्कार भएको दाबी गर्दै दोषीलाई सजाय र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन्। २०७९ भदौ ५ गते राति सन्दीपले बलात्कार गरेको भन्दै किशोरीले जाहेरी दिएकी थिइन्। झण्डै डेढ वर्षपछि उक्त मुद्दामा फैसला हुन लागेको हो।

Facebook Comments Box