नेकपा एमालेले आज चाडपर्वको अवसरमा चियापान कार्यक्रम गर्दै
काठमाडौं, १५ कात्तिक – नेकपा एमालेले आज (बुधबार) चाडपर्वको अवसरमा चियापान कार्यक्रम गर्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरु हुने एमालेले जनाएको छ। हरेक वर्ष दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार लगायतका पर्वका अवसरमा एमाले, कांग्रेस लगायतका राजनीतिक दलले चियापान कार्यक्रम गर्दै आएका छन्।
कांग्रेसले यही कात्तिक ११ गते कोजाग्रत पूर्णिमाकै दिन चियापान कार्यक्रम गरेको थियो। एमालेले मंगलबार (कात्तिक १४ गते) गते नै चियापान गर्ने भनेको थियो। तर, मंगलबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक भएपछि एमालेले आजको लागि चियापान कार्यक्रम सारेको हो।
चियापानमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न राजनीतिक दलका प्रमुख, नेता, संवैधानिक निकायका प्रमुख, राजदूत, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी, सञ्चारकर्मी लगायतलाई आमन्त्रण गरिएको छ। एमालेले पायक पर्ने सर्वसाधारणलाई पनि चियापान समारोहमा उपस्थित हुन आग्रह गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् चियापानमा सहभागी हुन सबैलाई निम्तो दिएका छन्।

