संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन
काठमाडौं, २९ वैशाख – संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । गोरखापत्र संस्थानकाे पूर्वकार्यकारी अध्यक्ष एवं नेपाली काँग्रेस नेता समेत रहनु भएका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ । उहाँ काठमाडौँको सिफलमा बस्दै आउनु भएको थियो । २००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मनुभएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एम.ए. , बी.एल. गर्नुभएको थियो ।
२००७ सालको जन–क्रान्ति काल देखिनै नेपाली काँग्रेसमा सक्रिय रहेर राजनीति गर्नुभएका उहाँ नेपाली काँग्रेसको पूर्वकेन्द्रीय तथा पुर्वसांसद पनि हुनुहुन्छ । उहाँले २०४८ सालदेखि २०५१ सालसम्म कार्यकारी अध्यक्षको जिम्मेवारी समेत बहन गर्नु भएको थियो । नेपाली राजनीतिमा उहाँको अतुलनीय योगदान रहेको र प्रजातन्त्र प्राप्ति देखि बहुदल, लोकतन्त्र, गणतन्त्र प्राप्तिसम्ममा उहाँको योगदान रहेको थियो ।

