राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्नेछ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २२ वैशाख – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभौली पर्व २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै यसप्रकारका पर्वहरूका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ गर्न टेवा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

उहाँले प्राकृतिक ऋतुचक्रसँग एकाकार भएर जीवन निर्वाह गर्न अभ्यस्त किराँत समुदायको उभौली पर्वले मानव र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने उल्लेख गर्नुभएको छ । सन्देशमा भनिएको छ, “ उभौली पर्वले हामी बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

जाडो सकिएर गर्मी मौसम सुरु भएसँगै मानिस, जीवजन्तु तथा पशुपंक्षीहरू उँधोबाट उँभोतिर बसाइँ सर्ने समयमा वैशाख शुक्ल पूर्णिमाको दिन किराँत समुदायद्वारा मनाइने उभौली पर्वको अवसरमा लगाइएको अन्नबाली सप्रियोस्, खडेरी, बाढी र पहिरो जस्ता प्राकृतिक विपत्तिहरू नआउन् भनी प्रकृति र पितृको पूजा गर्ने विशिष्ट परम्परा रहेको छ ।

शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनेकौँ प्रकारका हिंसाको प्रयोगबाट आक्रान्त समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको बताउनुभएको छ । २५६७औँ बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले समस्त मानव जातिलाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धका उपदेशहरूको पालना एवं अनुसरण गरी व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, “नेपाल प्राचीन बौद्ध सभ्यताको उद्गम स्थल भएको हुनाले बौद्ध धर्म र दर्शनसम्बन्धी अध्ययन एवं अनुसन्धानको संस्थागत विकास गर्न, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थलहरूको संरक्षण, विकास र प्रवद्र्धन गर्नका लागि आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मलाई लाग्दछ ।”

उहाँले भन्नुभएको छ, “विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” वैशाख शुक्ल पूर्णिमा गौतम बुद्धले जन्म लिएको, ज्ञान प्राप्ति गरेको र महापरिनिर्वाण हासिल गरेको त्रि–संयोगयुक्त दिवस हो ।

तसर्थ, विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि यो दिन गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिनका रूपमा रहेको छ । पूर्व राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “गौतम बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच परस्पर सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि गर्दै सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा अग्रसर रहन म सबैमा हार्दिक आह्वान गर्दछु”, भन्नुभएको छ ।

Facebook Comments Box