विश्वकप लिग–२मा नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं, २ चैत – आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ।घरेलु टोली नेपाल सिरिजको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहन्छ।

नेपाल युएईसँग पराजित भए वा अंक बाँड्नुपर्ने अवस्था आएमा नेपालको सोझै विश्वकप खेल्ने सपना अधुरो रहनेछ। यस्तोमा नामिबिया शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा स्थान बनाउने छ। नेपालले भने यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ।

सिरिजको पहिलो खेलमा यूएईलाई हराएको नेपाल उच्च मनोबलमा मैदान उत्रनेछ। घरेलु समर्थकको साथमा नेपाली टोली जितको लागि मैदान उत्रने छ। यूएईसँगको खेलसँगै नेपालले लिग २ को यात्रा पनि सकाउनेछ।

विश्व दुर्लभ कीर्तिमान बनाउदै सन्दीप

क्रिकेटर सन्दीप लामिछानेले आजको खेलमा २ विकेट लिए घरेलु मैदानमा दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गर्नेछन्। उक्त कीर्तिमान बनाएमा सन्दीप ओडीआईमा सर्वाधिक छिटो १ सय विकेट पूरा गर्दै विश्व कीर्तिमान बनाउने खेलाडी बन्नेछन्। सन्दीपले ४० ओडीआई खेलमा ९८ विकेट लिइसकेका छन्।

अब २ विकेट लिए सन्दीपले एक सय विकेटको कोशेढुङ्गा पार गर्दै ओडीआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान रच्ने छन्। यसअघि यो कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ। राशिद खानले सन् २०१८ मा ४४ खेलमा ओडीआईमा एक सय विकेट पूरा गरेका थिए। खननपछि अष्ट्रेलियाका मिचेल स्टार्कले ५२ खेलमा ओडीआईमा एक सय विकेटको माइलस्टोन पार गरेका थिए ।

Facebook Comments Box