कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव
दाङ, १८ वैशाख – यहाँको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव छ । अहिले अस्पतालमा १२० अक्सिजनका सिलिन्डर छन् । ती सिलिन्डरले अस्पतालमा रहेका सङ्क्रमितलाई पु¥याउन निकै धौ–धौ पर्ने गरेको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताउनुभयो ।
अस्पतालमा अहिले ४६ बिरामी भर्ना भएका छन् । अब श्यया थप्ने तयारी रहेको छ । अस्पालको माथिल्लो तला यसअघि नेपाल संस्कृत विश्वविद्यालयले दिन मानेको थिएन तर केही दिनदेखि बिरामी अस्पतालमा खचाखच भरिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसहित स्थानीय तहका प्रमुखको विशेष पहलमा विश्वविद्यालयले माथिल्लो तला प्रदान गर्ने सहमति गरेपछि आजदेखि श्यया थप्ने कार्य भइरहेको व्यवस्थापक ओलीले बताउनुभयो ।
उहाँका अनुसार ६५ श्यया थपिने छन् । उक्त श्यया थपिएपछि करिब ३०० अक्सिजन सिलिण्डर आवश्यक पर्छ । त्यसका लागि स्थानीय तहसँग सिलिण्डर उपलब्ध गराउन माग गर्दै आएको उहाँको भनाइ छ । “श्यया मात्रै थपेर हुँदैन्, श्ययासँगै अक्सिजन सिलिन्डर पनि थप्नु पर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामीले स्थानीय तहसँग श्यया सङ्ख्या थप गरिदिन माग गरेका छौँ ।”

