विराटनगरमा लामखुट्टे मार्ने अभियानलाई तीव्रता

काठमाडौं, ३ कात्तिक – विराटनगर महानगरपालिका क्षेत्रमा डेंगुका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि यसको रोकथाम तथा नियन्त्रण अभियान थालिएको छ। विराटनगरमा महानगरपालिकाले सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेंगुको संक्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो।

महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर वडा नम्बर ८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ। वडाध्यक्ष राम पोखरेलको नेतृत्वमा शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए।

विशेष गरी टायर, झाडी, जमेको फोहोर पानीलगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बस्ने भएकाले खोज तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए। यसअघि महानगरपालिकाले स्वास्थ्य, नागरिक समाजसहित सरोकारवालालाई राखेर डेंगु नियन्त्रण तथा रोकथामका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो।

महानगरका मेयर नागेश कोइरालाको निर्देशनअनुसार सबै वडामा डेंगु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको महाशाखा प्रमुख अलीले बताए। उनका अनुसार हरेक दिन विभिन्न वडामा लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान जारी छ। यसअघि मंगलबार वडाध्यक्ष श्याम घिमिरेको नेतृत्वमा वडा नम्बर १९ मा खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो।

Facebook Comments Box