भारी वर्षाका कारण सिन्धुपाल्चोककाे मेलम्ची नदीको बहाव बढ्याे, सतर्कता अपनाउन स्थानीयलाई आग्रह
काठमाडौँ, २१ साउन – भारी वर्षाका कारण सिन्धुपाल्चोककाे मेलम्ची नदीको बहाव बढेको छ। हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न वडाहरूमा बाढी बढेपछि सुरक्षा सतर्कता अपनाइएको छ। मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङका अनुसार हेलम्बु गाउँपालिका–१ हुँदै आउने खोलाको बहाव बढेको हो।
‘बाढी बढेको छ,’ तामाङले भने, ‘सुरक्षा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेका छौं।’ मेयर तामाङका अनुसार मेलम्ची नगरपालिकाका वडा नं ६, ७, ११ र १२ उच्च जोखिममा छन्। मेलम्चीबाट दुबाचौर, शिखरपुर जोड्ने झोलुङ्गे पुलमा बाढीले क्षती पुर्याएको तामाङले बताए।
‘पुल संरक्षण गर्न केही दिनदेखि नै लागेका थियौं,’ मेयर तामाङले भने, ‘बाढीले कटान सुरु गरेपछि त्यहाँ काम गर्न पनि प्रभावित भएको छ।’ उता, हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि बाढी बढेकाले प्रभावितहरुको बारेमा बुझ्न कठिनाई भएको बताए।
‘आज बनायो फेरि भोलि बाढी पसेर बन्द गराइदिन्छ,’ ग्यााल्जेनले भने, ‘भयानक अवस्था नै भएको त छैन, निरन्तर वर्षा हुँदा समस्या भएको छ।’ केही विद्यालय र सडक उच्च जोखिममा रहेको उनले जानकारी दिए। मेलम्ची बजारमा एसएमसमार्फत बेला बेलामा त्यहाँको अवस्थाबारे जानकारी गराइएको छ।
गत वर्ष मेलम्चीमा आएको बाढीबाट ठूलो मात्रामा धनजनको क्षती भएको थियो। बाढीले वितण्डा मच्चाएको एक वर्षपछि पुनः वर्षायामसँगै नदी बढेपछि स्थानीयहरु त्रसित छन्।

