प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्छ : देवप्रसाद गुरुङ

काठमाडौं, ३० जेठ – सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन्।

संसद भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा गुरुङले माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले अध्यक्ष केपी ओली शर्माबीच बालकोटमा भएको भेटको सन्दर्भमा यस्तो बताएका हुन्।

माओवादी प्रमुख सचेतकसमेत रहेका गुरुङले ओली र नेता श्रेष्ठबीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि सामान्य रुपमा लिनुपर्ने पनि बताए।

‘राष्ट्रिय स्वाधीनताको प्रश्नमा जोसँग विचार मिल्छ, हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौँ’, उनले भने, ‘विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले कांग्रेससँग मिल्दै स्थानी तह निर्वाचनमा जानु परेको हो।’

गुरुङले पार्टीका वरिष्ठ नेता श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गरेको भेटलाई स्वाभाविक रुपमा लिएको प्रतिक्रिया पनि दिए। उनले राष्ट्रिय स्वाधीनताको सवालमा निकट विचारको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिने धारणा राखे।

श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच आइतवार बालकोटमा भेट भएको थियो। त्यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि श्रेष्ठले सोमबार भेटेका छन्।

सैन्य सम्झौता गर्ने अमेरिकी प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको सार्वजनिक भएपछि नेपाललाई भेट्न श्रेष्ठ कोटेश्वर निवास पुगेका थिए।

Facebook Comments Box