बेँसीसहर–चामे सडक खण्ड पुनः १० दिन बन्द
लमजुङ, ७ चैत – लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ। सडक खण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ। तर, कलभर्टको ढलान पूर्णरुपमा सेट भई नसकेका कारण आइतबारदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे–बेँसीसहर–चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कलभर्ट पुलको स्लाब ढलान गरिएको छ।
प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिका लागि सडक बन्द रहने डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ।
सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासोँ गाउँपालिका–९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो।
पछि पुनः काठेपुल राखेर यातायात सञ्चालन भएकामा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो । त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्लाब कल्भर्ट निर्माण गरिएको हो।

